अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

११ मंसिर- मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ तिनताप्केस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७१ किलोग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-९ खैराङ बस्ने २० वर्षीय मिलन घलान र २६  वर्षीय दावा थिङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ३०५९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक मिलन र बोलेरोमा सवार दावालाई पक्राउ गरेको हो ।

झापा, कमल गाउँपालिका-७ ठुलोबाह्रघरे बस्ने ३८ वर्षीय संदेश बस्नेतलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पासेन ५ हजार २६ क्याप्सुल र डेकोलिक ४ सय २० क्याप्सुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बाह्रघरे र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, गौरीगंज गाउँपालिका-१ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोबिन्द राजवंशी र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी कुन्जिबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय कमल सिंह बन्जारा थारू र लम्किचुहा नगरपालिका-५ बस्ने ३५ वर्षीय काशिराम खड्का रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्