रक्सीको मातमा एक महिलाको खोलामा धकेलेर हत्या

३१ भाद्र- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-१ मेलडाँडा बस्ने ५७ वर्षीय धनमाया श्रेष्ठको खोलामा धकेलेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा प्रहरीले गुल्मी कालीगण्डकी गाउँपालिका ९४ घर भई बलेफी गाउँपालिका -१ मा रहेको तल्लो बलेफी हाइड्रोपावरमा मजदुरीको काम गर्ने ३७ वर्षीय रनबहादुर गाहालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटना भदौ २५ गते राति बलेफी- १ मेलडाँडामा भएको थियो।

भदौ २६ गते उनी बेपत्ता रहेको भन्दै इलाका प्रहरी कार्यालय गोल्छे यलम्बु जलविरेमा मौखिक उजुरी आएको थियो। भदौ २७ गते मृतक धनमायाकी छोरीले निवेदन समेत दर्ता गराएकी थिइन्।

खोजी गर्दा घरदेखि उत्तरतर्फ गोरेटो बाटोदेखि ब्रम्हायणी खोलाको डिल सम्म चुडिएको अवस्थामा धागोसहित पोतेका दानाहरू ठाउँठाउँमा फेला परेको थियो ।

प्रहरीका अनुसार घटना शंकास्पद देखिएपछि प्रहरीले नजिकै काम गर्ने रनबहादुरलाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो। घटनास्थलमा तालिम प्राप्त कुकुर पनि खटाइएको थियो। त्यस्तै महिला ब्रम्हायणी र सुनकोशी नदीमा खसेको हुनसक्ने आशंकामा खोजी गरिएको थियो।

त्यसैबिच भदौ २६ गते अपराह्न ४ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका- २ सादीपाखोमा ती महिलाको शव फेला परेको थियो।

त्यस्तै अनुसन्धान र सोधपुछकै बीचमा प्रहरीको नियन्त्रणमा रहेका रनबहादुरले घटनाबारे खुलाएका थिए।

प्रहरीका अनुसार भदौ २५ गते बेलुकी धनमायाको घरमा मृतक, रनबहादुर र मृतकका जेठो छोरा कमलदास मदिरा सेवन गरेर बसेका थिए।

मदिरा अपुग भएपछि रनबहादुर थप मदिरा लिन गएका थिए। उनी फर्किँदासम्म छोरा आफ्नो घर फर्किएको र त्यसैबीच मृतक धनमायासँग विवाद भएको प्रहरीसँग बयानमा भनेका छन्।

विवाद भएपछि धनमाया घरबाट बाहिर निस्केकी थिइन्। तर उनले तान्दा घाँटीमा लगाएको माला र पोते चुँडिएको थियो।

‘मैले तान्दै गर्दा निजले घाँटीमा लगाएको माला तथा पोते चुडिएको र म लखेट्दै जाँदा ब्रम्हायणी खोलाको डिलमा निजलाई भेटी सोही डिलबाट ब्रम्हायणी खोलामा घचेडी दिएको हुँ,’ उनले बयानमा भनेका छन्।

शव आइतबारमात्रै मृतकका परिवारले सनाखत गरेका थिए।

शवको पोष्टमर्टमको लागि प्रहरीले काठमाडौंस्थित टिचिङ अस्पतालमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्