माछा पोखरी निर्माणमा ३० करोड भन्दा बढी भ्रष्टाचारमा ६ जनाविरुद्ध मुद्दा दायर

२९ जेष्ठ- काठमाडौं,  बागमती नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित) भरतकुमार थापासहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरूलाई ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँको बिगो राखी कैद तथा जरिवानाको सजाय माग गरिएको छ ।

बागमती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुंगा गिटी बालुवा लगायतको बिक्री वितरणमा नगरपालिकाकै मिलेमतोमा अनियमितता देखिएको अनुसन्धानमा खुलेको अख्तियारको भनाइ छ ।

मुद्दा दायर गरिएकाहरूमा नगर प्रमुख भरतकुमार थापा, उपप्रमुख लिलाकुमारी मुक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोख्रेल र जिल्ला समन्वय समिति, सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी रहेका छन् ।

सर्लाहीस्थित बागमती नगरपालिका वडा न. ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्