२९ जेष्ठ- मोरङ, मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति जो दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको माछा नेपालमा पहिलोपटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखिएको थियो ।
नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पछ्याउन थालेका थिए । पछि दुई चिनियाँ अनुसन्धानकर्ता जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरूले यो अतिमिचाहा स्वभाव भएको र नेपालका निम्ति नयाँ प्रजाति भन्ने पुष्टि गरे ।
यो माछाको वासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलोपटक भेटिएको भन्ने पुष्टि गर्दै अनुुसन्धानकर्ताद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस’ नामक विज्ञान पत्रिकाको हालैको अंकमा छापिएको छ ।
स्तरीय मानिएको ९क्यु टु० उक्त विज्ञान पत्रिकामा उल्लेख गरिएअनुसार लोहन्द्रा खोलाबाट यो माछाका ४३ नमुना संकलन गरिएको थियो ।
पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई ठाउँमा यो प्रजाति र यही जातको अर्को प्रजाति दमकतिरका खोलाहरूमा भेटिएको लेखमा उल्लेख छ । हेर्दा आकर्षक लाग्ने, २०० देखि ३०० ग्राम तौलसम्मका नमुना संकलन गरिएको थियो ।
अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्तामध्येका एक जसहाङ लिम्बूले भने, “यसमा हामीले दुई बाटो अनुमान गरेका छौँ । कि कसैको एक्वारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो, कि भारतबाट नदीमा खेल्दै आएको हुनसक्छ ।”
उनले थपे, “जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइयो । जसकारण हाम्रा स्थानीय माछाहरू नासिने सम्भावना हुन्छ । यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।”
उनका अनुसार, यो पहिला लजालु र स्थिर बसिराख्छ । तर, मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई खाइदिने गर्छ ।
“सन् २०१९ देखि यसको खोजीमा लाग्दा थाहा भयो कि लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ । संख्या निरन्तर बढिरहेको छ । अब अरू नदी तथा माछापालन गरिएका पोखरीमा विस्तार हुँदैन भन्न सकिन्न,” लिम्बू भन्छन्, “व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठूलो क्षति हुन्छ । यो माछालाई खासमा एक्वारियममा राखी आनन्द लिने हो । तर, खानमा यो अप्रिय प्रजाति हो ।”
यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्न अनुसन्धानकर्ताले सुझाव दिइरहेका छन् ।
अनुसन्धानकर्ताले लेखेका छन्, “यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ । नियन्त्रित नगरिएमा माछा मारेर जीविको चलाउनेको जीवनयापन नै संकटमा पर्ने, देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।”
-रासस
प्रतिक्रिया दिनुहोस्