६ जेष्ठ- कैलाली, मालपोत कार्यालय कैलाली टीकापुरका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली, नापी कार्यालय टीकापुरका तत्कालीन प्रमुख एवम् अधिकृत मानबहादुर चन्दसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेको आरोपमा रसाइली र चन्दसहित मालपोत कार्यालय टीकापुरका नायब सुब्बा अग्निबहादुर शाही, नापी कार्यालय टीकापुरका सर्वेक्षक दशरथ मण्डल तथा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलकुमार रावल र विमलबहादुर रावलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
कैलालीको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को १५ बिघा सरकारी जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय टीकापुरबाट व्यक्तिको नाममा कायम गरिएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरूविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
अन्तिम अपडेट: जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्