महिला प्रिमियर कपको फाइनलका लागि आज नेपाल र मलेसिया भिड्डै

फाल्गुन ४- काठमाडौँ,   मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ। मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ। बुधवार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। यसअघि बुधबार नै कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको थियो । त्यसपछि वर्षाका कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ६.५ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो।

नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो। नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्। फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्