दाङबाट भन्सार छलेर भित्र्याइएको एक ट्रक प्याज बरामद

माघ १६- दाङ, दाङमा भन्सार छरेर भित्र्याइएको आठ हजार किलो प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २९ गण हेक्ड क्वाटर ज्वालामाई गण, भालुबाङले पाँच लाख ५२ हजार मूल्य बराबरको प्याज र एउटा ट्रक मंगलबार बिहान बरामद गरेको एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिए।

शितगंगा नगरपालिका- ८ सातमारामा कपिलवस्तुबाट घोराहीतर्फ जाँदै गरेको रा २ ख ५३६ नम्बरको ट्रक बरामद भएकाे हाे।

अवैध रूपमा ट्रकले प्याज ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा जाँचमा एसपी श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त ट्रक र प्याज बरामद गरेको हो।

बरामद भएको प्याज र ट्रकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको छ।

‘नक्कली बिलबिजग बनाएर प्याज ल्याइको देखियो। भन्सार छरेर ल्याइएको प्याज फेला परेपछि कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालयमा पठायौं,’ एसपी श्रेष्ठले भने, ‘राजमार्ग सुरक्षाका लाग आइआरटी स्थापना छ। २४ घण्टा जाँच गर्दै आएको छ।’

राजमार्गमा हुने सवारी दुर्घटनामा छिटो उद्धारमा खटिन र अवैध चोरी निकासी नियन्त्रणका लागि सशस्त्र प्रहरीले ध्यान दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्