सुन तस्करी प्रकरणमा मुछिएका कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ

भदौ १३-काठमाडौं,  सुन तस्करी प्रकरणमा जोडिएका राहुल महरा पक्राउ परेका छन् । उनि नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई पक्राउ गरेको हो । राहुलबाहेक कृष्णबहादुरकै अर्को छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको सीआईबीले जनाएको छ ।

 

त्यस्तै, सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भेप सुन प्रकरणमा जोडिएका तीनैजना चिनियाँ फरार छन् । १० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ बट्टामा ल्याइएको ७३० थानमा भेपमा ९ किलो सुन लुकाएर ल्याएको खुलेको थियो । उक्त सुन भन्सारका कर्मचारीको मिलोमतो पछि चोरी गरेर बिक्री गरेको खुलेको थियो ।

सोही प्रकरणमा पक्राउ परेका ९ जना हाल पुर्पक्षको लागि थुनामा छन् । चोरी प्रकरणबारे सीआईबीले २७ असारमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तस्करी प्रकरणबारेको अनुसन्धान भने सीआईबीले पुनः सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्