दक्षिण युरोप र अमेरिकामा ४६ डिग्री तापक्रम, जनजीवन कष्टकर

श्रावण ३-दक्षिण युरोप र अमेरिकामा बढ्दो तापक्रमले जनजीवन कष्टकर बन्दै गएको छ ।

इटलीको सारडिनिया टापुमा आज अधिकतम तापक्रम ४६ डिग्री सेल्सियस पुग्ने र अधिकांश स्थानमा यो स्थिति १० दिनसम्म लम्बिने विज्ञहरूको अनुमान छ । स्पेनका दक्षिणी भागहरूमा पनि तापक्रम ४४ डिग्री पुगेको छ भने केही स्थानमा गर्मीका कारण आगलागीका घटना पनि भएका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली क्षेत्रमा तापक्रम ४९ डिग्री पुगेको छ । यहाँ ५३ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको छ । यस्तै इजरायलको गाजा क्षेत्रमा तापक्रम ३८ डिग्री पुगेको छ । इजिप्ट र इजरायलको बीचमा पर्ने यस क्षेत्रमा गर्मीका बीच विद्युत आपूर्तिमा अवरोध आउँदा २३ लाख मानिस समस्यामा छन ।

यता बढ्दो गर्मीको सामना गर्न चीनको दक्षिण पश्चिमी भागमा पर्ने चोङ्गचिङ्गमा स्थानीय सरकारले १२७ वटा चिस्यान केन्द्र स्थापना गरेका छन् भने लुबाट बाँच्न स्थानीयलाई एसी, खानेपानी र औषधि वितरण गरेको छ । केही दिन यता चोङ्गचिङ्गको तापक्रम ३७ डिग्री पुगेको छ । अफ्रिकी मुलुकहरूले पनि गर्मीबाट बाँच्न प्रशस्त तरल पदार्थ पिउन र घाममा ननिस्कन आग्रह गरेका छन् । गत साता अल्जेरिया र मोरक्कोमा अहिलेसम्मकै उच्च ४८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो ।

मोरक्कोका जलवायु विज्ञहरुले जलवायु संकटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् । युरोपमा मात्रै गत वर्ष अत्यधिक गर्मीका कारण ६१ हजार जनाको मृत्यु भएको एक अध्ययनले देखाएको छ । राष्ट्रसंघको तथ्यांकअनुसार सन् १९९८ र २०१७ को बीचमा गर्मीका कारण १ लाख ६६ हजार जनाको मृत्यु भइसकेको छ ।।

प्रतिक्रिया दिनुहोस्