संशोधित नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
नयाँ ऐनमा व्यवस्था भएबमोजिम आजदेखि जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकता प्रमाणपत्र जारी हुने गृह मन्त्रालयले जनाएको छ । २०७२ असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले आजदेखि नागरिकता पाउन सक्नेछन् । ऐनमा गैरआवासीय नेपाली नागरिक र बाबुको पहिचान खुल्न नसकेको आमाका सन्तानलाई नागरिकता दिन भने नियमावली आवश्यक पर्नेछ । नागरिकता ऐनमा बाबुको पहिचान खुल्न नसकेको स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।
स्वघोषणाको फाराम भने नियमावलीमार्फत आउने भएकाले तत्काल नागरिकता जारी हुनेछैन । जेठ १७ गते राजपत्रमा नागरिकता ऐन संशोधन भएको सूचना प्रकाशित भएपछि ऐन कार्यान्वयनमा आएको मन्त्रालयको भनाइ छ । तर, केही प्रमुख जिल्ला अधिकारीले नागरिकता वितरणका लागि गृहले परिपत्र नै जारी गर्नुपर्ने बताएका छन ।
गृहले भने नागरिकता ऐन २०६३ संशोधन भई राजपत्रमा प्रकाशित भएकाले कानुनबमोजिम नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई एसएमएस पठाएको छ ।।
प्रतिक्रिया दिनुहोस्