१५ फागुन- काठमाडौँ, ऊर्जा मन्त्रालयबाट नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ संग मागिएको २४ घण्टे स्पटीकरणको जवाफ दिंदै घिसिङले मन्त्रालयबाट आवश्यक सहयोग, समर्थन, प्रोत्साहन र हौसला प्रदान गर्नुपर्नेमा अति गौण र साना विषय उठान गरी असजिलो पारेको बताएका छन्। मानर्मन र हतोत्साही बनाउने गरी पटक पटक स्पष्टीकरण मागिएको उनको भनाई छ।
यस्तो कार्यले राज्यले प्रदान गरेको पदीय दायित्व, जिम्मेवारी तथा स्रोत साधन र समयको अवमूल्यन भइरहेको उनले आफ्नो पत्रमा उल्लेख गरेका छन । उनले अब यस प्रकारका दुःख र हैरानी दिने काम नगर्न अनुरोध गरेका छन्।
उनले प्रतिकूलता, असहयोग र अवरोधका बावजुद नेपाल सरकारले दिएको जिम्मेवारी कानूनअनुसार पूरा गरिरहेको दाबी गरेका छन्।
विद्युत् प्राधिकरण ऐनअनुसार मन्त्रिपरिषद्बाट चार वर्षका लागि नियुक्त भएकाले आफूलाई कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको घिसिङको भनाई छ। त्यसैगरी, आफूलाई कुन आरोपमा कारबाही गर्न लागिएको हो, त्यसको यकीन नै नभएकाले कसूर एकीन नगरी गोश्वरा आरोप लगाएर कारबाही गर्न नमिल्ने तर्क गरेका छन्। आफूमाथि लगाइएका आरोप मनोगत भएको पनि उनको जिकिर छ।
प्रतिक्रिया दिनुहोस्