कसरी पक्राउ परे दुर्गा प्रसाइँ( विश्लेषण)

२९ चैत- काठमाडौँ,  चैत १५ गते काठमाडौँको तीनकुने रणभूमी बनेको घटनाको कमाण्डर दुर्गा प्रसाईँको पक्राउ जसले नेपालको सुरक्षा निकाय र सञ्चारमाध्यम दुवैतिर तरंग पैदा गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मध्यरातमा एउटा विज्ञप्ति जारी ग¥यो । चार हरफको विज्ञप्ति, तर यसले धेरै प्रश्नहरु उब्जाएको छ । विज्ञप्तिमा भनिएको छ – दुर्गा प्रसाईंको भारतमा पक्राउ परेको समाचार गलत हो ।

 

मूलधारका सञ्चारमाध्यमहरुले त दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ परे भनेर धमाधम समाचार नै छापेका थिए । कतिले त प्रहरी प्रवक्ता दिनेशराज आचार्यको खण्डनलाई पनि ठाउँ दिए । तर, यो कस्तो विरोधाभास हो? एकथरी समाचार आइरहेको छ, प्रहरी खण्डन गरिरहेको छ । अचम्म त के छ भने, प्रहरीको खण्डन आइरहेकै बेला दुर्गा प्रसाईंको सचिवालयबाटै सूचना जारी भयो – प्रसाईंले आफ्नै सुरक्षाका लागि आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरे! अब यहाँनिर प्रश्न उठ्छ ! यदि प्रसाईंले आत्मसमर्पण नै गरेका हुन् भने, प्रहरीले किन उनी भारतमा नियन्त्रणमा लिएर आउँदै गरेको बेला पक्राउ परेका छैनन् भनेर विज्ञप्ति निकाल्नुप¥यो? केही गडबड छ यहाँ। दालमा केही कालो छ ।

 

यो रहस्यको पर्दाफास गर्न हामीले जान्नैपर्छ, प्रसाईंको गिरफ्तारीअघि गृह मन्त्रालयको उच्च तहमा के भइरहेको थियो? हाम्रा स्रोतहरु भन्छन्, प्रहरीले प्रसाईं बसेको घर एक दिनअघि नै पत्ता लगाईसकेको थियो। दिउँसो उनलाई पक्राउ गर्ने तयारी हुँदै थियो। गृहमन्त्री, आईजीपी लगायतका उच्च अधिकारीहरु बैठकमा थिए । अनि त्यही बेला, सञ्चारमाध्यममा उनी पक्राउ परेको खबर चुहियो ।

अब यहाँनिर प्रहरीलाई आपत प¥यो। सामान्यतया भारतबाट कसैलाई पक्राउ गरेर ल्याउँदा नेपाल भित्र्याएपछि मात्र सूचना दिइन्छ। तर, यसपालि त पहिले नै हल्लाखल्ला भयो । प्रहरी अधिकारीहरु भन्छन् – सूचना चुहिएपछि प्रसाईंलाई १० घण्टाको बाटो हिँडाएर सीमासम्म ल्याउन सुरक्षा चुनौती त थियो नै, भारतीय पक्षले पनि असहयोग गर्न सक्थ्यो। त्यसैले, सम्भावित समस्याबाट बच्न प्रहरीले हतारहतार विज्ञप्ति निकालेर भन्यो – प्रसाईं पक्राउ परेका छैनन्। तर, सत्य के हो भने, काँकडभिट्टाबाट प्रहरीले गाडीमा एस्कर्ट गरेर ल्याएको भिडियो त सार्वजनिक भइसकेको छ नि! अनि प्रहरी प्रवक्ताले त भद्रपुरमा पक्राउ गरेको भनेका छन्। यो कस्तो विरोधाभास हो? प्रहरी अधिकारीहरु भन्छन् – भारतमा गएर समातेर ल्याउने कुरा औपचारिक हुँदैन। कानुनी अड्चनहरु मिलाउन यस्तो नाटक गरिन्छ। सीमामा समातिएको भनेर प्रतिवेदन बनाइन्छ।

 

यो त वर्षौंदेखिको चलन रहेछ! तर, मानवअधिकारकर्मीहरु यसलाई अवैध भन्छन् । उनीहरु भन्छन्, यस्तो तरिकाले प्रहरी अधिकारीहरु नै जुनसुकै बेला फस्न सक्छन् । अर्कोतिर, भारतमा समातिएका अभियुक्तहरु मारिने खतरा पनि हुन्छ। त्यसैले औपचारिक माध्यमबाट हस्तान्तरण हुनुपर्छ । नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु पनि मान्छन् – यो नेपाल र भारत दुवैको आवश्यकता हो । अपराध नियन्त्रणका लागि दुवै देशको हितमा छ। तर, यसलाई औपचारिक कसरी बनाउने भन्ने चाहिँ राजनीतिक तहमा छलफल हुनुपर्ने विषय हो । यो घटनाले धेरै प्रश्न उब्जाएको छ। प्रहरीको विज्ञप्ति, प्रसाईंको सचिवालयको सूचना, अनि वास्तविकतामा के भयो? यो सबै रहस्यको गर्भमा छ । के प्रहरीले साँच्चै ढाँटेको हो? के यो दुई देशबीचको पुरानै सहमति अनुसार भएको हो?

हामीलाई कमेन्टमा आफ्ना विचारहरु लेखेर पठाउन सक्नुहुन्छ ।।

विश्लेषण लेखक: कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्