२६ माघ-काठमाडौं, संयुक्त उत्पीडित जातीय मोर्चा नेपालको आयोजनामा यही माघ २६ गते ललितपुरको कुपोन्डोल स्थित राष्ट्रिय दलित आयोगको कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संयुक्त उत्पीडित जातीय मोर्चाको आवश्यकता र महत्त्व बिषयक अन्तरक्रिया कार्यक्रममा मोर्चाका संयोजक उपेन्द्रलाल कामीले प्रस्तुत गरेको संक्षिप्त अवधारणा पत्रमा संघीय सांसद तथा थारु कल्याणकारी सभा सदस्य रुक्मिणी चौधरी, पुर्व सांसद बिनोद पहाडी, बुद्ध-अम्वेडकर दर्शन अध्येता कमला हेमचुरी, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य सुनिता मरिक, दलित गोलमेच सम्मेलन आयोजक समिति सदस्य अग्निशिखा, अनादिवासी शिल्पी शोधकर्ता डि.वि. नेपाली, नेपाली काँग्रेसका युवा नेता तथा मगर खाम चलचित्र मोड्याल्नीका निर्देशक नायक धुर्व पुन मगर, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य पूर्णिमा बि क लगायतका उत्पीडित जातिका अगुवा प्रतिनिधिहरुले सुझाव सहितको धारणा राखेका थिए ।
नेपालको जातीय समस्याको प्रमुख कारकतत्व भनेको हिन्दु सामन्ती आर्य शासकीय वर्ण ब्यवस्थाको संरचना र संस्कृति भएको ठहर गर्दै उत्पीडित जात जातिका संगठनहरु बीचमा अन्तरसंवाद गर्दै सहकार्य गरेर एकल जातीय वर्चस्व रहेको राज्यको संरचना र बिभेदकारी संस्कृतिलाई बदल्न संयुक्त रुपमा अघि बढ्नुपर्ने आवश्यकतामाथि सहभागीहरुले जोड दिएका थिए । सर्लाहीका सत्येन्द्रराम र नेहा रौनियारबीचको अन्तरजातीय बिवाहलाई ब्यवधान पुर्याउन गृहमन्त्रीले गरेको सुरक्षा निकायको दुरुपयोग, मुक्मुलुङमा किराँत संस्कृति, सभ्यता र सम्पदामाथि अतक्रमण गरेर केवलकार निर्माण गर्ने नाममा प्रहरीले गोली चलाएर गरिएको अत्याचार, देशैभरी भएका जातीय विभेद तथा छुवाछूतका घटनाहरुले उत्पीडित जातिहरुलाई एउटै साझा मोर्चाबाट संयुक्त अान्दोलनलाई अगाडि बढाउन सबैलाई महसुस गराइरहेको कुरा अन्तरक्रियामा सहभागी वक्ताहरुले बताएका छन् । कृष्ण बोगटीले संचालन गरेको कार्यक्रममा संयुक्त उत्पीडित जातीय मोर्चाका सहसंयोजक प्रेम कश्यपले मोर्चाको ऐतिहासिक पृष्ठभूमि र कार्यक्रमको आैचित्य बारेमा प्रष्ट पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्