विमान दुर्घटनामा २० को मृत्यु, १ जना बाँच्न सफल

१७ माघ- काठमाडौं, दक्षिण सुडानको दुर्गम क्षेत्रमा बुधवार भएको विमान दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । विमानमा सवार २१ जना मध्ये एक जना बाँचेका हुन् ।

दक्षिण सुडानको युनिटी राज्यको तेल क्षेत्र नजिकै उडान भर्ने क्रममा बिहान १०ः३० बजे विमान दुर्घटनाग्रस्त भएको थियो । विमान दक्षिण सुडानको राजधानी जुवा जाँदै थियो । विमानमा २१ जना सवार रहेको थिए । यसमा दुई पाइलट पनि थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार अधिकांश मानिसहरू तेल कम्पनीका कर्मचारी थिए । संयुक्त राष्ट्रसंघ सम्बद्ध रेडियो मिरायाले विमान कम्पनीको विज्ञप्तिलाई उद्धृत गर्दै मृतकमध्ये अधिकांश दक्षिण सुडानका नागरिक भएको उल्लेख गरेको छ । मारिनेहरूमा एक भारतीय र दुई चिनियाँ नागरिक पनि भएको बताइएको छ ।

अधिकारीहरूले मृतकहरूको पहिचान पुष्टि गरेका छैनन् । दक्षिण सुडानको एसएसबीसी न्यूजका चोल अटकले एक्समा आफ्नो पोस्टमा विमान दुर्घटनामा बाँचेका व्यक्तिको नाम इमानुएल मेकर रहेको बताएका छन् ।

उनी ग्रेटर पायोनियर कम्पनीका इन्जिनियर हुन् । घाइते अवस्थामा उनलाई हेलिकप्टरबाट जुवा लगिएको थियो, जहाँ उनको अवस्था स्थिर रहेको भनिएको छ ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्