२३ पौष- काठमाडौं, ललितपुरबाट अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा दुई भारतीयसहित ५३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने भारतीय नागरिकमा मनिश कुमार झा र राहुल मेगोडा छन् । मनिश टिम लिडर हुन् भने राहुल ट्रेनिङ म्यानेजर हुन् ।
पक्राउ पर्ने नेपालीमा एचआर म्यानेजर ओखलढुंगाकी मोनी दाहाल, इन्चार्ज सिन्धुपाल्चोककी सुस्मिता नेपाली, म्यानेजर झापाका रोशन बस्नेत, आईटी सपोर्टर काठमाडौंका आदित्यकुमार सिंह र ओभरअल टिम लिडर काभ्रेका सलिन श्रेष्ठसहित छन् ।
नेपालमा भने प्रोलिंक सोलुसन प्राइभेट लिमिटेड नामक कम्पनी दर्ता गरेर नौ महिनादेखि कल सेन्टर चलाएर अवैध सट्टेबाजी सञ्चालन गरिरहेको पाइएको सीआईबीले जनाएको छ ।
सीआईबीले उनीहरूको साथबाट ९६ थान मोबाइल र ८५ थान ल्यापटप बरामद गरेको छ ।
सीआईबीका अनुसार, भारतीय नागरिकले नेपालीसँगको मिलेमतोमा ललितपुरको सातदोबाटोमा एउटा फ्ल्याट नै भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए । नेपाली युवायुवतीलाई राम्रो आम्दानी हुने प्रलोभन देखाएर गैरकानुनी काममा लगाइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्