५ पौष- काठमाडौं, नेपालको यु–१९ टिमले हङकङ्कको यू-१९ टिमलाई पराजित गरेको छ । तेस्रो खेलमा पनि जीत निकालेको नेपालले एक दिवसीय शृंखला क्लिनस्विप गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले एक दिवसीय शृंखलामा हङकङ क्लिनस्विप गरेको छ । नेपालले हङकङको यू-१९ टिमलाई १३० रनले पराजित गरेको हो । नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३५ रनमात्र जोड्न सक्यो ।
नेपालका लागि तीन जनाले अर्धशतकीय पारी खेलेका थिए । सूर्यांशु कोइरालाले सर्वाधिक ६३ रन जोड्दा सन्तोष यादवले ५३ र अभिषेक तिवारीले ५६ रन जोडे । ९६ बलको सामाना गरेका सूर्यांशुले ८ चौका र १ छक्का हिर्काउँदा ४१ बलमा तिवारीले ४ चौका र २ छक्का हिर्काए । ४५ बलमा सन्तोषले पनि ५ चौका र १ छक्का हाने ।
नरेन भट्टले ३६ रन जोडेको खेलमा सोहिल कुँवरले १३ तथा राजेश बोहराले ११ र निरज यादवले ७ रन थपे । २१ रन नेपालले अतिरिक्त पाएको थियो ।
लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्