५ पौष- काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब देखि चिकित्सकहरू कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने तयारी गरेको छ।
मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई निर्देशन दिएका छन्। उनले यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत अधिकारीहरूलाई भनेका थिए।
मन्त्रालय अन्तगतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरू कार्यालय समयमा कार्यकक्षमा रहि सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ। कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ। मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रुपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनसमेत पत्रमा भनेको छ।
मन्त्री पौडेलले नियमित रुपमा हेल्लो स्वास्थ्यमा आएका गुनासाहरू सुन्दै सुधारका लागि अधिकारीहरूको ध्यानाकर्षण गराउँदै आएका छन्। यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालहरूमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको छ।
प्रतिक्रिया दिनुहोस्