देशैभरीबाट अवैध लागूऔषध सहित सात जना पक्राउ

२४ मंसिर – कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित त्रिवेणी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने २३ वर्षीय राहुल डगौरा र २५ वर्षीय सञ्जु डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय टेक राज जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ खोली गाउँ बस्ने २९ वर्षीय बिशाल थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट, डाइजेपाम २० एम्पुल, फेनारगन २४ एम्पुल र बुप्रेनुर्फिन ३८ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा, गोरखा नगरपालिका-६ बस्ने ३० वर्षीय समिन जोशी र ३० वर्षीय सलिन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट गोरखातर्फ आउँदै गरेको ना.५ ख ३१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-९ खक्रोला पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ नारायणपुर बस्ने २० वर्षीय बिशाल चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्