चिनियाँ ह्याकिङ समूहले गर्यौ अमेरिकी मुख्य दूरसञ्चार कम्पनीहरू ह्याक

२१ मंसिर-काठमाडौं ,अमेरिकाका मुख्य दूरसञ्चार कम्पनीहरूमा चिनियाँ ह्याकिङ समूहले लामो समयसम्म साइबर आक्रमण गरी प्रमुख राजनीतिक नेताहरूको सञ्चारमा जासुसी गरेको खुलासा भएको छ । राष्ट्रपति भवनका अधिकारी अनुसार ‘साल्ट टाइफुन’ नामक ह्याकर समूहले कम्तीमा पनि आठ अमेरिकी दूरसञ्चार कम्पनीसहित विश्वका अन्य देशहरूमा दुई वर्षदेखि साइबर आक्रमण गरिरहेका छन् ।

अमेरिकाका एटी एण्ड टी, भेरिजोन, टी-मोबाइल, लुमेन लगायतका दूरसञ्चार कम्पनीहरूबाट सर्वसाधारणदेखि सरकारी उच्च अधिकारी र चर्चित राजनीतिज्ञहरूको डेटा चोरी भएको बताइएको छ ।

 

घटनाको गाम्भीर्यतालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले दूरसञ्चार कम्पनीहरूको नेटवर्क सुरक्षामा सुधार र वार्षिक जोखिम व्यवस्थापन प्रोटोकल लागू गर्ने लगायतका बाध्यकारी नियमनको प्रस्ताव गरेका छन् । यस विषयमा छलफल गर्न सिनेटको एक समितिको बैठक ११ डिसेम्बरमा बोलाइएको छ ।

प्रविधि विज्ञहरूका अनुसार प्रभावित सेवा प्रदायकहरू विश्वका दर्जनौं देशमा कार्यरत रहेकाले यो घटनाको प्रभाव विश्वव्यापी हुने देखिएको छ । चीन सरकारले भने कुनै पनि खालको ह्याकिङ घटनामा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ । यसका साथै यस घटनामा पनि आफ्नो कुनै भूमिका नभएको चीनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्