डाँका चोरीमा संलग्न तीन जना पक्राउ

२४ भाद्र- काठमाडौं, डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने ३३ वर्षीय प्रकाश भन्ने बिकाश श्रेष्ठ, रामेछाप लिखु तामाकोशी गाउँपालिका-२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल र बाजुरा त्रिवेणी नगरपालिका-७ घर भई काठमाडौं बालाजु बस्ने ३२ वर्षीय डम्मलाल पाध्याय रहेका छन् ।

ललितपुर महानगरपालिका-१४ सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त स्थानबाट साउन २९ गते दिउँसो मोबाइल ४ थान, ल्यापटप १ थान, गेम बक्स १ थान, २ तोला बराबरको सुनको सिक्री २ थान डाँका चोरी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.६९ प २८४७ नम्बर र बा.७५ प ६३१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्