प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेता कार्यकर्ताहरूलाई मार्ने धम्की दिने पक्राउ

२८ श्रावन- काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेता कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत मार्ने धम्की दिने धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामालाई इलाका प्रहरी कार्यालय गजुरीले आइतबार पक्राउ गरेको हो ।

फेसबुकमा लेख्दै ओली र एमाले कार्यकर्तालाई गालीगलौज मार्ने धम्कीसहितको अभिव्यक्ति दिएका लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सरकारबीचको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुल विवादबारे सामाजिक सञ्जाल फेसबुक ओलीसहितलाई मार्ने भन्दै लेखेका थिए । यसलाई लिएर एमाले गजुरी गाउँपालिका कमिटी आपत्ति जनाएको थियो ।

पक्राउ परेका लामामाथि साइबर व्युरो भोटाहिटीमा मुद्दा दर्ता भएको छ ।

ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जाल फेसबुकबाट १७ हजारलाई एक महिनामा मार्ने धम्कीपूर्ण स्टाटस लामाले लेख्दै आएका थिए ।

लामालाई समाजिक सञ्जालमा लेखिएको, प्रेस विज्ञप्ति, र स्थानीय नागरिकबाट व्यापक गुनासो आएपछि आइतबार पक्राउ गरी हिरासतमा राखिएको हो।

खेलकुदका प्रशिक्षकका रुपमा एक वर्षअघि नियुक्ति लिएका लामाले काट्ने, मार्ने, धम्क्याउने शब्दावली प्रयोग गरी एक महिनादेखि निरन्तर फेसबुकमा लेख्दै आएका थिए ।

गजुरी गाउँपालिका वडा नम्बर ६ निवासी उनी नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनलाई गजुरी गाउँपालिकाले खेलकुद प्रशिक्षकको रुपमा भर्ना गरेको थियो ।

 

स्थानीय तहमा कार्यरत कर्मचारी उनले पुष्पकमल दहाल प्रधानमन्त्रीबाट हटेपछि ओलीबिरुद्ध गाली गलौज गर्दै आएका थिए । लामाको व्यवहारबारे एमालेले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक जानकारी गराउँदा पनि मौन बसेपछि कानुनी विकल्प खोजिएको अध्यक्ष मिजारले बताएका छन् ।

लामा २०८० भदौ १३ गतेदेखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षकका रुपमा थिए । लामालाई साइबर ब्यूरोको टोलीले आइतबार नै काठमाडौं लगेर अनुसन्धान थालेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्