बाँसबारी छाला जुत्ताको जग्गा खाली गर्न महानगरले दुई दिनको समय दियो

२८ श्रावन- काठमाडौँ ,  काठमाडौँ महानगरपालिका वडा नम्बर ३ मा रहेको बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा खाली गर्न महानगरले चाँदबाग स्कुल व्यवस्थापकलाई दुई दिनको समय दिएको छ।

बाँसबारी छाला जुत्ताको नाममा रहेको सो जग्गा विभिन्न ब्यक्ती हुँदै चाँदबाग रेसिडेन्सीको नाममा पुगेको खुलेपछि सरकारले कित्ताकाट गरेर अहिले सरकारको नाममा ल्याइसकेको छ।

 

सोमबार महानगरपालिकाको निर्देशनमा नगर प्रहरीले स्कुल आसपास माइकिङ गर्दै अतिक्रमित सरकारी जग्गा दुई दिनमा खाली गर्न भनेको थियो। दुई दिनमा विद्यालयले सो जग्गा नछाडे हस्तक्षेप गरेर हटाउने तयारी भएको छ।

 

साउन ८ मा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले जग्गाको स्रेस्ता उतारेर वडालाई दिइसकेको छ। स्रेस्तामा सो जग्गा सरकारी कायम भइसकेको छ। जग्गाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरे पनि अनुसन्धान कहाँ पुग्यो खुलाएको छैन।

ब्युरोले प्रारम्भमा पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो। ब्युरोले अरुण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। तर अदालतको आदेशमा पक्राउ परेका सबै हाजिर जमानीमा रिहा भएपछि सम्बन्धित देखिएका अन्यको हकमा भने बयान लिएको थियो। विनोद चौधरीसहित ब्युरोमा गएर बयान दिइसकेका छन्।

ब्युरोले मुद्दा चलाउने वा नचलाउने सरकारी वकिलको कार्यालयमा कुनै प्रस्तावित राय सुझाव दिएको पनि छैन।

प्रतिक्रिया दिनुहोस्