फर्किए सिमलतालमा पहिरोले हराई रहेको बस खोज्न आएका भारतीय टोली

१३ श्रावन- काठमाडौं, सिमलतालमा पहिरोले हराई रहेको बस खोज्न आएका भारतीय टोली फर्किएका छन्।

साउन ४ गते भारतका राष्ट्रिय आपदा मोचन बल एनडीआरएफ चितवन आएका थिए। सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सुरक्षाकर्मी र भारतबाट आएका टोलीले संयुक्त रूपमा घटनास्थल सिमलतालदेखि केराबारी देवघाट शिवघाट सम्म खोजी गरेका थिए।

भारतीय टोली ल्याएको सोनार र म्याग्नेट डीभाईसले खोजी गर्दा पनि बस फेला पार्न नसकेको प्रमुख जिल्ला अधिकारीले बताए।खोजीका क्रममा २ वटा पोइन्टमा भारतीय टोलीले शंका गरेको र अब सो स्थानहरूमा नेपालका सुरक्षाकर्मीहरूले खोजी कार्यलाई निरन्तरता दिने बताए।

हालसम्म २४ शव फेला परेकोमा १९ को मात्र सनाखत भएको छ। अझै ५ वटा शवको सनाखत हुन नसकेको उनले जानकारी दिए। अझै ४३ जना यात्रु हराइरहेको उनले बताए। काठमाडौंबाट गौर र वीरगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको बस सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा हराएको थियो।

प्रतिक्रिया दिनुहोस्