बागमती प्रदेशका मुख्यमन्त्री लाई राप्रपाले विश्वासको मत नदिने निर्णय

३ श्रावन- हेटौंडा, बिहीबार काठमाडौँको धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको हो । राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनले ६ साउनमा प्रदेश सभा बैठक डाकेको उल्लेख गर्दै राप्रपाको संसदीय दलको बैठकले उनलाई विश्वासको मत नदिने निर्णय गरेको बताए ।

 

२०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त हुँदा जम्कट्टेललाई राप्रपाले समर्थन गरेको थियो भने सरकारमा समेत सहभागी भएको थियो । तर तत्कालीन गठबन्धन टुटेपछि १३ फागुनमा सरकारबाट बाहिरिएको राप्रपाले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत दिएको थियो भने २०८० चैत १९ गते तेस्रो पटक विश्वासको मत लिँदा तटस्थ बसको थियो ।

तत्कालीन सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएर एमालेका मन्त्रीहरू पनि सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छन् । उनले यही साउन ६ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्