ब्याट्री कारखानामा आगलागी, २२ जनाको ज्यान गयो

१० आषाढ – दक्षिण कोरियामा रहेको एउटा ब्याट्री कारखानामा आगलागी हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ । अरू आठ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये १८ जना चिनियाँ नागरिक रहेका स्थानीय अग्नि नियन्त्रण निकायललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आगो लाग्दा कारखानामा झन्डै एक सय जना कामदार थिए । ह्वासङ शहरमा रहेको एरिसेल कम्पनीको कारखानामा आज बिहान आगो लागेको हो । आगो लागेसँगै केही विस्फोटसमेत भएको छ । विस्फोटको डरले अग्नि नियन्त्रकहरू भवनमा जान नसक्दा आगो निभाउन घण्टौँ लागेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

कारखाना भएको भवनको दोस्रो तलामा झन्डै ३५ हजार वटा लिथिअम ब्याट्री थिए । एकपछि अर्को गरेर ब्याट्री पड्किन थालेपछि आगो चाँडै फैलिएको बीबीसीले जनाएको छ । पानीले लिथिअममा सल्किएको आगो निभाउन नसक्ने भएकाले अग्निनियन्त्रकहरूले सुक्खा बालुवा प्रयोग गरेर आगो निभाएका हुन् ।

लिथिअम ब्याट्रीमा धेरै तातो हुँदा विस्फोट हुने सम्भावना हुन्छ । तत्कालका लागि आगो निभे पनि नदेखिने गरी हुने रासायनिक प्रतिक्रियाका कारण फेरि आगो फैलिने सम्भावना हुन्छ । लिथिअम ब्याट्रीको प्रयोग विद्युतीय गाडीदेखि ल्याप्टपसम्ममा हुन्छ । आगलागीको कारण थाहा भइनसकेको बीबीसीको खबरमा उल्लेख छ ।

 

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्