प्रथम राष्ट्रिय मौलिक लोक भजन प्रतियोगिता २०८१ भव्य रुपमा सम्पन्न प्रथमले पाए एक लाख

४ आषाढ- काठमाडौं, प्रथम राष्ट्रिय मौलिक लोक भजन प्रतियोगिता २०८१ भव्य रुपमा सम्पन्न भएको छ । गत शनिबार असार १ गते साँस्कृतिक संस्थान नाचघर जमल काठमाण्डौंमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि रेग्मीले भजन प्रतियोगिता २०८१ ले देश देशान्तरमा रहेका लोक भजनका गायक ,स्रष्ठा,संगीतकारहरुलाई प्रोत्साहित गरेको वताएका छन । नयाँ पुस्ता फेरिदै गर्दा हाम्रो सँस्कृति परम्परागत मूल्य मान्यताहरु क्षीण हुँदै गएको र लोपोन्मुख सँस्कृतिलाई संरक्षण , सम्वद्र्धन गर्नु आजको अनिवार्य आवश्यकता भएको वताएका छन ।

सहयात्रा नेपालको मुख्य आयोजना तथा भ्यू प्वइन्ट मिडिया र राष्ट्रिय लोक साँस्कृतिक संघ नेपालको सहकार्यमा भएको कार्यक्रमको अध्यक्षता चन्द्र शर्माले गरेका थिए । मौलिक लोक भजनको संरक्षण ,सम्वद्र्धन र प्रवद्र्धनका निम्ति गरिएको कार्यक्रमले आगामि दिनमा भावि पुस्ताले पनी मौलिक लोक भजनको संरक्षण गर्ने,प्रचार प्रसार गर्ने क्रममा निरन्तर रहिरहने कार्यक्रमका सभापति तथा गायक चन्द्र शर्माले वताए ।

प्रतियोगितामा मलेखुका युवा भजन गायक निश्चल सिलवालको नेतृत्वमा मुक्तेश्वर भजन समुह टोखा प्रथम भएको छ । ओम कारेश्वर भजन समुह तारकेश्वरले दोश्रो स्थान हात पारेको छ । गोपाल सिद्धभजन समुह अर्घाखाँची तृतीय भएको छ भने सिन्धुली कलाघर र अरुण उपत्यका साँस्कृतिक अनुसन्धान केन्द्र वालन भजन समुह संखुवासभाले सान्त्वना स्थान प्राप्त गरेका छन । पहिलो हुने समुहले नगद रु एक लाख, दोश्रो हुने समुहले नगद रु पचास हजार , तेस्रोे हुने समुहले नगद रु पच्चीस हजार र सान्त्वना स्थान प्राप्त गर्ने दुई समुहले नगद रु सात हजार सात सय सतहत्तर प्राप्त गरेका छन । प्रतियोगितामा जम्मा २१ टिमको सहभागिता रहेको थियो । सहयात्रा नेपालका संस्थापक अध्यक्ष दुर्गा रायमाझीको संयोजनमा भएको प्रतियोगिताको निर्णायक मण्डलमा दुर्गा रायमाझी, भजन सम्राट तथा गायक रेशम सापकोटा, भजन गायक नारायण लेकाली,गायक नरहरी प्रेमी,तेज वहादुर केसी रहेका थिए ।

कार्यक्रममा वाचन प्रविण पण्डित दिनवन्धु पोख्रेल, राष्ट्रिय लोक लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगर,एभरेष्ट कल्चरल ग्रुपका संस्थापक अध्यक्ष आर.सी. कोइराला, गायक नारायण रायमाझि,नृत्य निर्देशक जोगेन्द्र के.सी लगायको उपस्थिती थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्