२३ जेष्ठ- काठमाडौं, नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप हारबाट सुरुआत गरेको छ । समूह डीको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन जोडयो । नेदरल्यान्ड्सका म्याक ओ डाओडले सर्वाधिक ५४ रन बनाए । विक्रमजीत सिंह २२ र साइब्रेन्ड एन्गलब्रेख्त १४ रनमा आउट हुँदा बास डे लीडे ११ रनमा अविजित रहे । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहरा समान १ विकेट लिए । त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए ।
करण केसी १७, गुल्शनकुमार झा १४ र अनिल साह ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेदरल्यान्ड्सका टिम प्रिन्गल र लोगान भ्यान वीकले समान ३ विकेट लिए। पाउल भ्यान मिकरेन र बास डे लीडेले समान २ विकेट लिए । अब नेपालले जेठ २९ मा श्रीलंकाको सामना गर्नेछ ।।
प्रतिक्रिया दिनुहोस्