माईतीघर मण्डला देखि सुन व्यवसायको चरणबद्ध आन्दोलन सुरु

२१ जेष्ठ- काठमाडौं, सुनचाँदी व्यवसाय क्षेत्रले अव चरणबद्ध आन्दोलन गर्ने भएको छ । सुनको कोटा प्रणालीको खारेज,सुनमा बढाइएको भन्सार शुल्क घटाउनुपर्ने र सुनचाँदी नीति निर्देशिका जारी हुुनुपर्ने भन्दैं व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको आयोजनामा आईतवार माईतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो । कार्यक्रममा व्यवसायिक संघ,महासंघका प्रतिनिधिहरुले बजेट भाषणमा बढाएर सुनमा २० प्रतिशत भन्सार पुराइएको र सुनको सिण्डीकेट प्रणालीले व्यवसाय धरासयी भएको भन्दैं विरोध गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सरकारले सुनचाँदी व्यवसाय क्षेत्रलाई वेवास्ता गर्दा अरवौको राजश्व प्रदान गर्ने क्षेत्र धरासयी हुँदै गएको बताउनुभयो । अध्यक्ष शाक्यले सुनमा बढाइएको ५ प्रतिशत शुल्क तत्काल घटाउनुपर्ने बताउनुभयो । नीति निर्देशिका नहुँदा अन्योलको अवस्था आएकाले आफुहरुले वारम्वार नीति नियम बनाउन पहल गरेता पनि राज्यले वेवास्ता गरेको बताउनुभयो ।

कार्यक्रममा संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक विपिन रामुदामुले सरकारले आफुहरुको मागको सुनवाई नगरे बुधवार देखि थप नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेर जाने बताउनुभयो । संयोजक रामुदामुले सुनचाँदी पेशाको भविष्य जोगाउने यो आन्दोलन माईतीघरबाट ट्रेलरको रुपमा सुरु भएको भन्दैं अव देशव्यापी बनाउने बताउनुभयो ।

नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले सुनको सिण्डीकेट विरुद्धको लडाई आफुले अदालतबाट पनि लडेको भन्दैं अव सडकबाट पनि यो पेशालाई न्याय दिलाउन लडाई लडेको बताउनुभयो । नेपाल सुनचाँदी सुनचाँदी व्यवसायी संघ केन्द्रका अध्यक्ष महेन्द्ररत्न शाक्यले सवैको साथ र सहयोग लिएर सुनचाँदी व्यवसायी सुझवुझका साथ अघि बढनुपर्ने बताउनुभयो ।

 

कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर गदालले आन्दोलनमा आफुहरुको समेत पूर्ण समर्थन रहेको भन्दैं सुनचाँदी व्यवसायी नीति नियम नहुँदा पिडामा रहेको भन्दैं सुनचाँदीको नीति नियम बनाएर मर्यादित व्यवसाय बनाउन सवैले आन्दोलनमा साथ दिएर दबाब दिनुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका अध्यक्ष अर्जून विश्वकर्माले अव सुनचाँदी व्यवसाय क्षेत्र गर या मरको लडाईमा रहेको भन्दैं देशभरका कालिगढहरु आफ्नो हक अधिकारको लागि एक जुट भएर आन्दोलनमा आउनुको विकल्प नभएको बताउनुभयो ।
सरकारले व्यवसायीसँग सल्लाह नै नगरी हचुवाको भरमा सुनमा भन्सार वृद्धि गरिएको भन्दैं प्लेकार्ड सहित व्यवसायीहरुले नारावाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्