राति फोनमा ठुलो स्वरमा बोलेको भन्दै आफ्नै फुपूकी छोरीको हत्या, नौ वर्षपछि पक्राउ

१६ वैशाख – काठमाडौँ, काठमाडौँको कीर्तिपुरस्थित कृषि कार्यालयमा जेटिए २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।

राति फोनमा ठुलो स्वरमा बोलेको भन्दै आफ्नै फुपूकी छोरीको हत्या गरी फरार रहेका समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।

सुनमाया मामासँग काठमाडौँको तत्कालीन सेतीदेवी गाविस–३ तौथलीस्थित कुष्ठरोग आरोग्य आश्रममा बस्दै आएकी थिइन । २०७० कात्तिक १ मा उनी आश्रमकै शौचालयभित्र मृत भेटिएकी थिइन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार घटना अनुसन्धान गर्दा काठमाडौँमा ज्यामी काम गर्ने समरबहादुर बाबुलाई भेट्न आश्रम जाने गरेको खुल्यो । २०७१ असोज ३१ गते बेलुका बाबु बाहिर गएका कारण कोठामा समर र सुनमाया मात्र थिए ।

दुवै जनाले बेलुकाको खाना खाएपश्चात् सुतिसकेपछि सुनमायाले मोबाइलमा कुराकानी गर्दा समरले ‘ठुलो स्वरमा कुरा नगर, म थाकेर आएको छु सुत्नदेउ’ भन्दै मोबाइल फाल्दा विवाद बढेको बताइएको छ ।

विवाद बढ्दै जाँदा सुनमायाले समरलाई हँसियाले प्रहार गरेकी थिइन् । घटनामा समरको बुढी औँलामा चोट लागेको थियो । उक्त हँसिया खोस्दा हातमा टोकेपछि समरले सुनमायाको टाउकोमा हिर्काए । सुनमाया बेहोस भइन् । लामो समयसम्म पनि होसमा नआएपछि घाँटी थिची मारेर शव नजिकैको शौचालयमा पुर्‍याएर समर भागेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले बताइन ।

सुनमायाको हत्यापश्चात् समर भारततर्फ भागेका थिए । केही दिनअघि तौथलीमा बाबुलाई भेट्न आउँदा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्