बोलेरोको ठक्करबाट ३ जनाको मृत्यु

१२ बैशाख- झापामा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।​​​ मृत्यु भएका तीनै जना कमल गाउँपालिका–४ अमलडाँगीका भएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–००१–००१ च ९३२९ नम्बरको बोलेरोले तीन जना सवार विपरीत दिशातर्फ गइरहेको मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै जनालाई बीएण्डसी अस्पताल विर्तामोडमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

जीप चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्