देशका अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

वैशाख १०- मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४ मिलिग्रामसहित कानेपोखरी गाउँपालिका-५ बस्ने ३१ वर्षीय आकाश धिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ मुक्ति चोक बस्ने २१ वर्षीय अनी मगर र २० वर्षीय आनिहान लिम्बुलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रूपैयाँसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

झापा, अर्जुनधारा नगरपालिका-५ पानीकलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ८ सय २० मिलिग्रामसहित कनकाइ नगरपालिका-८ बाँङगेडागी बस्ने ३१ वर्षीय रविन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरी टोलीलाई देख्नासाथ फरार भएका सोही नगरपालिका-४ बस्ने २७ वर्षीय बिमल राईको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी झापा, दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर नम्बर सि २ हट नम्बर ९९ बस्ने इलाम चुलाचुली गाउँपालिका-५ आपझोला ठेगाना भएका ३३ वर्षीय फुर्वा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम र नगद १५ हजार ४ सय ५० रूपैयाँसहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल बेस क्याम्प बेलडागीबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ मन्दिर लाइनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम, मोबाइल ९ थान, एकसय एमएलको कोरेक्स ३ बोतल र नाइट्राभेट ६५ ट्याब्लेटसहित ३ जनालाई सोमाबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय श्याम कुमार खड्का, २७ वर्षीय सुजन कार्की र ३५ वर्षीय रन्जित लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले श्याम कुमारको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्