नयाँ वर्षको साथ सुदूरपश्चिमको विशेष चाड विशु आज सिस्नुपानी छ्यापेर मनाइँदै

वैशाख १- काठमाडौ,  सुदूरपश्चिममा आज उल्लासका साथ विशु पर्व मनाइदै छ। विशु पर्व सुदूरपश्चिममा विशेष चाडका रुपमा मनाइने गरिन्छ। रोजगारीका लागि बाहिर गएकाहरु पनि विशु मनाउन घर फर्किएका छन्। नयाँ वर्षको पहिलो दिन देवर भाउजु एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइने गरिन्छ। यस दिन आफैले पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ।

विशेष गरी सुदूरपश्चिमका दार्चुला, अछाम, डोटी, डडेलधुरा, बझाङ, बाजुरा र बैतडीका साथै कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले नयाँ वर्षका दिन विशु पर्वला मनाउँछन्। संस्कृतिविद् कैलाश पाण्डेका अनुसार विशाखा नक्षत्र भएकोले वैशाखको पहिलो दिनलाई विशु भन्ने गरिन्छ। यो दिन सुदूरपश्चिमका हरेक शिवालय र मन्दिरहरू पूजाआजा गर्ने, न्वागी (नयाँ अनाज) चढाइने उनी बताउँछन्। गहुँ, जौ, मुसुरो, चनाजस्ता अन्नबाली भित्र्याएपछि मन्दिरमा चढाइसकेपछि नयाँ अन्नको न्वागी पकाएर खाइन्छ।

काम र रोजगारीको सिलसिलामा घरबाहिर गएका सुदूरपश्चिमबासी विशु पर्वमा घर आउँछन्। यो पर्व नजिकिँदै गर्दा सबैले लिपपोत गरेर र कमेरो लगाएर घर चिटिक्क पार्छन्। प्रत्येक चैत्र २० गते नानी विशु र वैशाख सङ्क्रान्तिलाई ठूली विशुको रूपमा मनाउने चलन छ। यो पर्वलाई विशु सङ्क्रान्ति, बिखती तिहार, विशु पुज्ने दिन भन्ने समेत गरिन्छ। विशु पर्वजस्तै सुदूरपश्चिमबासीले वर्षमा पर्ने बाह्रवटै सङ्क्रान्तिलाई पर्वका रूपमा मान्दै आएका छन्।

 

– दिनेश खबर

प्रतिक्रिया दिनुहोस्