विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

चैत्र २९- बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्रामसहित खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २० वर्षीय मनोज चदारालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले भे.१० प ७२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक मनोजलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-१ सिद्धार्थ टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने दुई जना १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, गौरीगंगा नगरपालिका-२ बस्ने ३२ वर्षीय त्रिभुवन चन्दलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय मिलिग्राम र नगद ४१ हजार रूपैयाँसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरीया मालाखेतीबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठामा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्