चैत्र २६- धनकुटा, धनकुटा नगरपालिका-३ कागतेमा आगलागीबाट गम्भीर घाइतेमध्येका एक बालकको सोमवार मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन वर्षीय विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आइतवार स्थानीय राजु श्रेष्ठको घर नजिकै लागेको डढेलोले श्रेष्ठका १० वर्षीय छोरा रोशन र ३ वर्षीय विवेक गम्भीर घाइते भएका थिए ।
घाइते दुवैको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारका लागि लगिएको थियो । थप उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा विवेकको बाटैमा मृत्यु भएको प्रहरी स्रोतको भनाई छ ।
बारीमा रहेको सुकेको पात तथा झ्यास भेला पारेर लगाइएको आगो नियन्त्रण बाहिर गएर बालकहरु घाइते भएका थिए । घाइते मध्ये रोशनको हात खुट्टा र विवेकको घाँटी मुनिको शरीरको सम्पूर्ण भाग जलेको थियो ।
अर्का घाइते बालक रोशनको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्