पत्नी हत्याको आरोपी राईको कारागार भित्र मृत्यु, कुटपिटको आशंका

चैत्र १८- इनरुवा,  पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङको साकेला गाउँपालिकाका ४२ वर्षीय न्यायधीश राईको सुनसरीको झुम्का कारागारभित्र शनिबार मृत्यु भएको छ ।

कारागारभित्रै कुटेर हत्या गरिएको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने न्यायधीशका दाइ सुभाष राईले माग गरे ।

न्यायधीशको शरीरभरि नीलडाम रहेको, कान सुन्निएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरिएको उनका भाउजू उर्मिला राईले दाबी गरिन् ।

जिल्ला अस्पतालमा उपचारका क्रममा कैदीबन्दी राईको मृत्यु भएको झुम्का कारागारका प्रमुख धु्रवराज कोइरालाले बताए । स्वास्थ्यमा समस्या रहेकाले उपचारका निम्ति जिल्ला अस्पतालमा भर्ना गरेको र उपचारका क्रममा राईको मृत्यु भएको उनको भनाइ छ ।

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पंगेनीले अस्पताल ल्याउनुअघि नै राईको मृत्यु भइसकेको बताइन् ।

पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र नबुझ्ने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्