आज तराईमा होली खेलीँदै

चैत्र १२- नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईमा सुन्दर भू–भागहरू छन् । ठुला–ठुला घरदेखि स–साना झुपडीसम्म, स्फूर्ति फलेका खेतदेखि धानका बालासम्म अनि विभिन्न भाषा अनि संस्कृतिबिच तराई नेपालमा शोभायमान छ । खोलानाला अनि उब्जाऊ माटोले सिञ्चित यो भूभाग नेपालको अन्न भण्डार अनि पौरखीहरूको थलो हो, जहाँ मानो खाएर मुरी उब्जाइन्छ ।

जोगिरा सररररर……..
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के बोलो सारारारारारारारारारारा
के बोलो सारारारारारारारारारारारा
जोगीरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात् चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराई बासीले कुनै पनि शुभ कार्य या चाडबाड या समारोहको जनाउ गर्छन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्छ ।

ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ, तथापि जोगीरा त्यो हो जो रङ्ग र भाँगको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपुवा, नरिवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक आपसमा रङ्ग दलेर खुसीयाली साटासाट गरिन्छ ।

को हुन जोगीरा ?
जोगी अर्थात् केही लिन÷दिनसँग वास्ता नभएको, सुख र दुःखको झेलमा नअल्झिएको अनि सम्पूर्ण रूपमा साधु जस्तो सांसारिक बन्धनबाट टाढिएको मानिस । जोगीरा, अर्थात् बिन्दास अनि निस्फिक्रीको मानिस । मजीरा अर्थात् आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मीठो नशाको रिँगटालाई व्यक्त गरिएको छ ।

जोगीरा हुन आज केही मात्रामा भाँगको घोटा पिइन्छ । भाँगको नशाले सबैलाई जोगीरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानुन् । तर भाँग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडबाडको सन्दर्भलाई फरक रूपमा देख्न जरुरी छ ।
झन्डै कुरा अन्तै मोडिएको । आउनुहोस् तराईकै ढोलकको तालमा गफिऔँ, पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विविध जातजातिहरू लगायत पश्चिमी भेगका नेपाली तराईबासीहरुसम्म आज यो रङ्गिन चाड मनाउँदै छन् ।

अब हामी यस विशेष दिन तराईमा पारम्परिक नृत्यको जग सम्हाल्दै आएका नटुवा समुदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौँ । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुरबुबाले सुनाउनुहुन्थ्यो । त्यो म आज याद गर्दै लेख्दै छु ।उहिले तराईमा अचेलजस्तो मनोरञ्जनका साधन थिएनन् । रमाइलो गर्न सीमापारिबाट आर्केष्ट्रा ल्याइन्थ्यो अनि विभिन्न गीतहरूमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँथे ।

वारिपारि गाउँ थर्किने गरी तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरू बजिरहन्थ्यो । यस्ता कार्यक्रमहरू नवरात्रि या अन्य चाडहरू जस्तै होलीताका ल्याइने चलन अझै छ । यसरी आएका आर्केष्ट्राका सदस्यहरूमा नाच्ने सदस्यहरूलाई नटुवा भनिन्छ । गाउँ–गाउँमा यस्ता नटुवाहरु हुन्छन्, जसले पुरुष भएता पनि महिलाको झैँ देखिने पैतलासम्मको फराक जस्तो पहिरन लगाएर घुमी–घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्छन् ।

आज होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परिक नटुवा नृत्यका साथ नटुवाहरु नाच्छन् । तराईको पारम्परिक यी कलाकार समुदाय फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै एउटा गाउँबाट अर्को गाउँमा पुग्ने गर्छन् । साइकलका घण्टहरू अनि पाइडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडिका परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर बनाएको छोपको अचार अनि विभिन्न मिठाईहरू आज विशेष महत्वसहित खाइन्छ । अब हाम्रो पात्रो मोबाइल एप्स, सम्पूर्ण नेपाली जनलाई प्रविधिको एउटै सूत्रमा बाँध्ने सूत्रधार हो र यो सूत्रधारले के पहाड, के तराई नि के हिमाल ?

वास्तवमा अचेलको जस्तो कृत्रिम रङ्गहरू नभई कन होलीको वास्तविक खेलिने रङ्गहरूमा, पहेँलोका लागि केशर, रातोका लागि अबिर या लालगुलाल पनि भनिन्छ । चामलको पिठो, चन्दन लगायत अन्य प्राकृतिक रङ्गहरूको चलन थियो । सुस्तरी यी कुराहरूलाई बजारमा सहज उपलब्ध रङ्गहरूले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोलीसम्ममा उत्रेला, तर होलीको यो भाइचारा र उत्साहका साथै सकारात्मक सोच कहिल्यै नघटोस् । तराई, पहाड र हिमाललाई यसले जोडिरहोस् ।

अझ होलीमा भक्त प्रह्लादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलीकालाई दहन गर्ने चलन छ । तराईमा गाई–गोरुको गोबरलाई सुकाएर आगोको दाउराका रूपमा प्रयोग गर्न गुइँठा बनाउने चलन छ । यस्ता गुइँठाहरूलाई खुल्ला ठाउँमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बाली होलीका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ ।

मिथिलाको होली
सुस्तरी यस्ता चलन घट्दो क्रममा भने रहेकै छन् । मिथिला भूमिमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरू जनकपुरमा आएर अन्तगृह घुमेपछि होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथा अनि भजन गाइन्छ ।
फागु पूर्णेको दिन यसरी परिक्रमा सकिएर तिर्थालुहरु जनकपुरमा आइपुग्छन् । त्यसै दिन होली खेल्न नभ्याउने भएकाले अनि परिक्रमाका कारणले तिर्थालुहरु थाक्ने र सहर वासीहरू तिर्थालुहरुको सत्कारमा लाग्नुपर्ने भएकाले तराई होली फागु पूर्णेको भोलिपल्ट परेको हो ।

कन्चन वन राम खेले होली भन्दै गीत गाइन्छ, यो अर्थमा भगवान् राम पनि कन्चन वनमा होली खेल्न आएको जनविश्वास र किंवदन्ती छ । होलीको छनक यस दिनमा अभूतपूर्व रहन्छ ।

पश्चिम नेपाली तराईहरूमा भने माटोले होली खेल्ने चलन पनि छ । बहुतै सद्भावका साथ सूखा या भिजेको माटोको सुस्त लेप एक अर्कामा लगाएर होली प्रारम्भ गरिन्छ ।
आज तराई होली विशेषलाई बिट मारौँ । अर्को वर्ष फेरि तराईका परिवेश लिएर आउनेछौ । आज समस्त तराईले एउटै गीत गाउँछ होली हे

-हाम्रो पात्रो

प्रतिक्रिया दिनुहोस्