श्रीमतीले नै गराइन श्रीमानको हत्या

चैत्र ९-पोखरा,  सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङ को हत्या भएको छ । हत्यामा उनकै श्रीमतीको हात रहेको अनुसन्धानबाट खुलेको छ ।

 

रामलालले डोजर, एक्स्काभेटर चलाउँथे । उनको श्रीमतीले उनलाई कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर फकाए । हाइड्रोमा काम पाए कमाई पनि राम्रो हुने उनलाई थाहा थियो । तर काम गर्न आएका उनी चैत ३ गते मृत भेटिए ।

अनुसन्धान गर्दै जाँदा उनको हत्या भएको खुल्यो । उनको हत्या गरेर सँगै आएका ३ जना फरार भए । उनको हत्या गर्न आफ्नै श्रीमतीले टोली खटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा श्रीमती र उनीसँगै हाइड्रोमा काम आएका ३ जनालाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरी पोखरा ल्याएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा श्रीमती च्याङ्मा तामाङ, उनलाई ल्याउने धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ छन् । पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । रामलालको शव उनका बुबाले बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्