चैत्र ५- झापा, कन्काई नगरपालिका-८ बस्ने २३ वर्षीय मनिष चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने बिशाल राईसँग खरिद गरेको खुल्न आएपछि बिशालको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम प्रहरीले बरामद गरेको छ । हाल फरार बिशालको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी झापा, दमक नगरपालिका-८ डाँफे मुनालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ वालुवाटार बस्ने १९ वर्षीय शेखर परियार र २१ वर्षीय रोहित साह रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-११ मर्थीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही कंचन गाउँपालिका-६ बस्ने ३० वर्षीय बिशाल राना र २१ वर्षीय सुरज बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले लु.५९ प ७०९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगपरालिका-१९ सुर्जगाउँ बस्ने ४६ वर्षीय साबिर अली बेहनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय मिलिग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरको हो ।
पर्सा, बिन्दवासिनी गाउँपालिका-३ झौवा गुठी बस्ने ५६ वर्षीय मिरहसन देवानलाई अवैध लागूऔषध गाँजा ९ सय ग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्