घरमा चोरी गर्न पसोका चोरहरुले कुट्दा, १ जनाको मृत्यु, १ जना घाइते

फागुन २४- बाँके, बाँकेमा बुधवार राति चोरी गर्ने उद्देश्यले घरमा पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बुधवार राति करिब १ बजे पाँच सात जनाको समूहमा चोरी गर्ने उद्देश्यले जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा छिरेका चोरहरुले कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेको हुँदा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट गरिएको मृतक थारुकी साली बसन्ती चौधरीले बताए ।

सो घटनामा परि घाइते भएकी मृतक थारुकी पत्नी सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

चोरहरूले थारु परिवारलाई कुटपिट गरेर घाइते बनाई उनको घरबाट दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएको पनि प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्