देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

फाल्गुन १६- कञ्चनपुर, पुनर्वास नगरपालिका-११ रामजानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने ३८ वर्षीय जियालाल राना र २५ वर्षीय राम बहादुर राना रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गेरको हो ।

झापा, बिर्तामोड नगरपालिका-५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम र नगद ३ हजार ५ सय रूपैयाँसहित सोही ठाउँ बस्ने १९ वर्षीय जगत दनुवारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

महोत्तरी, पिपरा गाउँपालिका-४ पिपरा चोकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय ९६ एम्पुल, टयालगेसिस ४ सय ९९ एम्पुल र डाईजेपाम ४ सय ९२ एम्पुलसहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने ३६ वर्षीय महमद सिकिन्द्र हुसेन, मटिहानी नगरपालिका-९ सिमरदही बस्ने १९ वर्षीय गुडु साफी र भारत बिहार बस्ने २० वर्षीय सुवोध राउत रहेका छन् । ईलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको प्रहरीले ज.१ ह ३९४५ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक सिकिन्द्र हुसेन तथा टेम्पोमा सवार साफी र राउतलाई पक्राउ गरको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्