मालीमा भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु

फाल्गुन १६- माली,  मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ । बस केनिबाको मालियन शहरबाट छिमेकी बुर्किना फासो जाँदै गर्दा बागोई नदी पार गर्ने पुलबाट खसेको हो ।

हिजो भएको दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर छ । बसमा मालीका नागरिक र पश्चिम अफ्रिकाका विभिन्न क्षेत्रका नागरिकहरू रहेका बीबीसीले जनाएको छ ।

सडक र गाडीको खराब अवस्थाका साथै क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले मालीमा बारम्बार गाडी दुर्घटना भइरहन्छन् । यसअघि यही महिनाको शुरुमा एउटा बस ट्रकसँग ठोक्किँदा १५ जनाको ज्यान गएको थियो ।

 

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्