गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण, २ घाइते

फाल्गुन १०- बारा,  जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका-१६ मा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन्।

बुधबार अपरान्ह पौने पाँच बजे भद्रकालीस्थित पूर्व-पश्चिम लोकमार्ग-जंगलमा पथलैयाबाट रौटहततर्फ जाँदै गरेको ना.३६ प ५०११ नम्बरको मोटरसाइकललाई बाघको आक्रमण गर्दा दुई जना घाइते भएका हुन्।

घाइते हुनेहरूमा मोटरसाइकल चालक रौतहटको बौधिमाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण शाह र पछाडि सवार सोही स्थान बस्ने ३५ वर्षीय राजु शाह रहेका छन्।

मोटरसाइकलबाट लडेर कृष्णको खुट्टामा चोट लागेको छ भने राजुको टाउको र बाँया हातमा चोट लाग्नुका साथै दायाँ हातमा बाघले लछारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

दुवै घाइतेको निजगढस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले उक्त क्षेत्रमा सुरक्षा सतर्कता अपनाएर मात्र आवतजावत गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्