मोटरसाइकल र टेलर ठोक्किँदा एकको मृत्यु

फाल्गुन ५- सल्यान, सल्यानमा मोटरसाइकल र टेलर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सल्लीबजार–चौरजहारी सडकखण्ड अन्तर्गत जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-६ नाथेखोलाबाट सुनौलीबजार जाँदै गरेको लु८०प १४११ नम्बरको मोटरसाइकला र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ६ ख २२५३ नम्बरको टेलर एक आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार बन्गाड कुपिण्डे नगरपालिका-१ का १८ वर्षीय शिशिर बिसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बिसीलाई उपचारको लागि सुर्खेतको मेहलकुना अस्पताल लगिएको र त्यसपछि जिल्ला अस्पताल सल्यान ल्याउने क्रममा शुक्रबार राति १ बजेतिर बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि भवानीप्रसाद धमलाले बताए । उनका अनुसार दुर्घटना शुक्रबार बेलुकी साढे ५ बजे भएको थियो ।

प्रहरीले फरार रहेका टेलर चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१ का २५ वर्षीय दीपक थापा र मोटरसाइकल चालक वर्ष १६ का दिपायल बुढालाई नियन्त्रणमा लिएको प्रनि धमलाले जानकारी गराए । घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्