स्कारपियोको ठक्करबाट दिदिको मृत्यु, बहिनी घाइते

फाल्गुन ३- तुलसीपुर,  दाङमा स्कारपियोको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने उनकै बहिनी घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा प्युठानको झिमरुक गाउँपालिका १ घर भई अहिले दाङको राप्ती गाउँपालिका ८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र. ३–०१–०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले सोही दिशातर्फ आउदै गरेको साइकलमा सवार रहेकी बस्नेतलाई पिपरी नजिकै आज बुधबार अपरान्ह साढे ४ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका दुबैजनालाई उपचारका लागी लमही अस्पतालमा लगिएकोमा राधालाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सोही साइकलमा पछाडी सवार रहेकी उनकै बहिनी १६ वर्षीया विपना केसीको अवस्था पनि गम्भिर रहेकाले लमहीमा सामान्य उपचार पछी थप उपचारका लागी वुटवल रिफर गरिएको छ । मृतक राधा लमही स्थित सुनाखरी बचत तथा ऋण सहकारी संस्थाको बजार प्रतिनिधीका रुपमा कार्यरत रहेको खुल्न आएको छ । दुबै सवारी साधन नियन्त्रणमा लिएर घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्