कपिलवस्तुमा महेन्द्रनगरबाट जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु

फाल्गुन ३- कपिलवस्तु, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटाको घुम्तीमा गएराति बस दुर्घटना हुँदा १० यात्रुको मृत्यु भएको छ ।

मध्यरातमा यात्रुवाहक बस खोलामा खस्दा ७ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्र सनाखत भएको छ । महेन्द्रनगरबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खस्दा दुर्घटना भएको हो । सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

३३ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेर उपचारका लागि विभिन्न अस्पतालमा पु¥याएको छ । घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । छ जना उपचारपछि डिस्चार्ज भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको घाइते यात्रुहरुले बताएका छन । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्