रुस–युक्रेन युद्धमा २२ नेपालीले ज्यान गुमाए

माघ २८- सन् २०२२ को फ्रेबुअरी २४ देखि जारी रहेको रुस–युक्रेनबीचको द्वन्द्वमा १२ नेपालीको मृत्यु भएको र ५ जना युक्रेनी सेनाको कब्जामा रहेका आधिकारिक तथ्यांक सार्वजनिक भए तापनि पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका अभियन्ताहरूले भने २२ जनाले ज्यान गुमाइसकेको दाबी गरेका छन्।

रुस–युक्रेन युद्धमा संलग्न भएका नेपालीका साथै घाइते र बेपत्ताहरूको उद्धार तथा खोजीका साथै मृतकको लास फर्काउने विषयमा सरकारले गम्भीरताका साथ पहल गरिरहेको दाबी गरिरहेकै समयमा अभियन्ताहरूले भने उद्धारमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

यसैबीच कन्सुलर सेवा विभागमा रुस–युक्रेन युद्धमा फसेका करिब एक सय ४० नेपालीका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताउनुभएको छ।

मन्त्रालयका अनुसार हालसम्म गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान र कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको हो।

यसै गरी रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा मृतकका परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन्।

रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन र थप एक नेपालीलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयले जनाएको छ।

यद्यपि, पीडित परिवारका आफन्त र घटनालाई नजिकबाट नियालेका अधिकारकर्मीहरूले भने मृतक र पीडितको संख्या सरकारी तथ्यांकभन्दा दोब्बर बढी भएको दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्