गोरुले हानेर एकको मृत्यु

माघ २२- सुलीकोट,गोरखामा गोरुले हानेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका –४ स्थित खुदीटारका स्थानीय भोजबहादुर पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

सोमबार बिहान करिब पौने ९ बजे गोरुले हानेर पाण्डेको घट्नास्थलमै ज्यान गएको थियो । प्रहरीलाई बिहान ११ः३० बजे घटनाबारे खबर भएको थियो । खबर पाउनासाथ प्रहरी निरीक्षक शेखर खड्काको टोली घट्नास्थलतर्फ पठाइसकेको प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ ।

मृतक पाण्डेको सहोदर भतिजको गोरुले हानेर उहाँको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । भतिजको गोठमा रहेको हान्ने गोरु फुत्किएर भोजबहादुरलाई हान्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । पाण्डेको शब बारीको कान्ला छेउमा फेला परेको थियो । घट्नाको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्