नेपाली चिकित्सकबाटै नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरियो

माघ १८-काठमाडौँ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको हो । प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो ।

‘सबै नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौं । यो नेपालको स्वास्थ्य क्षेत्रकै लागि ठूलो सफलता हो,’ कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीले भने, ‘बाहिर कसैको भर नगरी हामीले २०७२ सालदेखि नै तयारी थालेका थियौं, जुन आज पूर्ण भयो ।’

अस्पतालमा हुने कलेजोका साथै प्याङ्क्रियाजका जटिल शल्यक्रियामा नेतृत्व गरिरहेका कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारीका अनुसार ४१ वर्षीय पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन् । अत्यधिक मदिरा सेवन गरेकै कारण नुवाकोट निवासी ती पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको डा. भण्डारीले जानकारी दिए । ‘२७ गते शल्यक्रिया गरेर कलेजो प्रत्यारोपण गरेपश्चात् उनलाई दुई साता आईसीयूमा राखेर वार्डमा सारिएको थियो,’ उनले भने, ‘हामीले उहाँलाई बिहीबार डिस्चार्ज गर्दै छौं ।’

 

प्रतिक्रिया दिनुहोस्