मेस्सीको इन्टर मियामी साउदी क्लब अल हिलालसँग हार्‍याे

माघ १६-  साउदी भ्रमणमा रहेको लियोनल मेस्सीको सम्मिलित अमेरिकी फुटबल क्लब इन्टर मियामी पहिलो खेलमा पराजित भएको छ। सोमबार राति भएको खेलमा साउदी क्लब अल हिलालसँग इन्टर मियामी ४-३ ले पराजित भएको हो।

मियामीविरुद्ध सुरुवातमै उत्कृष्ट अग्रता बनाएको हिलालले लगातार गोल गर्दै मियामीलाई दबाबमा राखेको थियो। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास गरेपनि मियामीले हार टार्न सकेन।

पहिलो हाफमा ३-१ ले पछि परेको मियामीले दोस्रो हाफमा १० मिनेटभित्र दुई गोल गर्दै खेल ३-३ को अवस्थामा ल्याएको थियो।

खेलमा १० औं मिनेटमा अल हिलालका मुख्य स्ट्राइकरका रूपमा रहेका सर्वियन खेलाडी अलेक्सेन्डर मिट्रोभिकको गोलमार्फत् अग्रता लिएको थियो। तीन मिनेटपछि नै हिलालले अग्रता दोब्बर बनायो। उसका लागि अब्दुल्लाह अल हमादले गोल गरे।

हिलालविरुद्ध लुइस स्वारेजले ३४ औं मिनेटमा एक गोल फर्काए। तर पहिलो हाफमै ३-१ को अग्रता बनाउने क्रममा हिलालका लागि माइकलले ४४ औं मिनेटमा तेस्रो गोल गरे। त्यसअघि मेस्सीले गोल गरेपनि उनको गोलले मान्यता पाएन।

 

तर मेसीले ५४ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई खेलमा फर्काए। मेस्सीले मियामीका लागि पहिलो प्रिसिजन गोल गर्दा टोली ३-२ को अवस्थामा आएको थियो।

लगत्तै डेभिड रुइजले ५५ औं मिनेटमा गोल गर्दा खेल ३-३ को रोमाञ्चक अवस्थामा पुगेको थियो। तर इन्टर मियामीलाई पराजित गर्न अल हिलालले ८८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। हिलालका लागि माल्कोमले चौंथो गोल गर्दा खेलमा अल हिलाल ४-३ ले विजयी भयो।

अब बिहीबार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो आमुन्नेसामुने हुने छन्।मेस्सीको  इन्टर मियामीले रोनाल्डोको अल नासरसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतिक्रिया दिनुहोस्