आज सहिद दिवस

माघ १६- काठमाडौं, देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ ।

 

शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना हुँदैछ । प्रधानमन्त्री, सहितको टोलीको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपुतहरूको सम्मानमा माघ १६ गते विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । २०१२ साल देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो। देश र जनताका लागि प्राण आहुति दिने शहीदहरूको विशेष सम्झना गरिने दिनका रूपमा शहीद दिवसलाई लिइन्छ ।

गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ । राणाहरुले विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ ।

यसैबीच नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ । मुलुकमा सहिदको सङ्ख्या १४ हजारभन्दा बढी छ । गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ ।

तीमध्ये ११ हजार ४१९ जनाको नाम राजपत्रमा छापिइसकेको छ भने तीन हजार २६१ जनाको नाम प्रकाशित हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्